Monday, November 30, 2009

प्रवासी नेपालीहरु माझ जनकार्य: सम्भावना र चुनौतिहरु

भानु पौड्याल

नेपालीहरु आर्थिक, सामाजीक र राजनैतिक कारणले बाहिरिने प्रकृया बढ्दो छ। राष्ट्रसंघका अनुसार, सन १९९० मा २.३ प्रतिशत नेपालीहरु बिदेसिएका थिए भने सन् २००५ सम्म अएपुग्दा यो सङ्ख्या बढेर जनसङ्ख्यको ३.० प्रतिशत पुगिसकेको थियो। नेपालमा अवस्था यथावत रहेमा २०१० मा देश छोड्ने नेपालीहरु सम्पूर्ण जनसङ्ख्याको ३.२ प्रतिशतको हाराहारीमा हुने छ। त्यसैले नेपाललाई माया गर्दछौं भन्नेहरुले यी प्रवासिन बाध्य नेपालीहरु को चासोलाई पनि प्रतिनिधित्व गर्न सक्नु पर्दछ।

नेपालीहरु बाहिरिनुका धेरै कारणहरु मध्ये राजनैतिक बिसङ्गतीले जन्माएका आर्थिक, सामाजीक र राजनैतिक अप्ठाराहरु प्रमुख कारण हुन भन्ने कुरा राजनैतिक सरणार्थीहरुको सङ्ख्यामा भएको आश्चर्यजनक बृद्धिले उजागर गर्दछ। सन् १९९० मा नेपाली राजनीतिले एउटा प्रमुख फड्को मार्दा समेत बिदेशिनेहरुको सम्पूर्ण सङ्ख्यको ४% मात्र राजनैतीक सरणार्थी थिए भने १९९५ मा यो सङ्ख्या बढेर सर्वाधिक १९.८% पुग्यो, सन २००० मा सरणार्थीहरुको सङ्ख्या १९९५ तुलनामा घटेर १७.९% पुग्यो, र २००५ मा १५.४%। स्मरण रहोस १९९५ मा माओबादी जनयुद्धले आकारै लिएको थिएन। यि तथ्यांकहरुले नेपालीहरु पलायन हुनुमा माओबादी जनयुद्धले जन्माएका कठिनाइहरु प्रमुख नभएर भन्दा राज्यसत्ताले जनताका आकांक्षाहरु पुर्ति गर्न नसक्नु हो भन्नेकुरा प्रष्ट पार्दछ। यसले के पनि प्रमाणित गर्दछ भने यस अवधीमा प्रवासिएका बहुसङ्ख्यक नेपालीहरु नेपालको राज्यसत्तासंग असन्तुष्ट छन।

यस्तो अत्यधिक प्रवासनको लहरका वाबजुद, यो पनि भन्न सकिन्छ कि, परिवार जनलाई पैसा पठाउनुलाई नेपाललाई सहयोग पुर्यारउने कामको रुपमा नलिने हो भने, समष्ट प्रवासी नेपालीहरु मध्येबाट सारै सानो सङ्ख्या मात्र कुनै न कुनै हिसावले नेपाललाई सहयोग पुर्यानऊने काममा संलग्न छन। यो तथ्यलाई हेर्दा प्रवासी नेपालीहरुबीच जनकार्यमा संलग्नहरुले प्रवासी नेपालीहरुको चिन्ता र चासोका बिषयहरुलाई प्रयाप्त मात्रमा बुझ्न र मुखरित गर्न नसकेको आभास पाउन सकिन्छ। बिकसित देशहरुका श्रमजीबि वर्गहरुको बीचमा राजनीतिलाई लिएर जाने जुन कठिनाई ती देशहरुका नेताहरुले भोगिरहेका छन हाम्रा साथीहरुलाई पनि त्यही समस्य परेको छ। त्यो समस्या हो, तमाम जिन्दगीका समस्याहरुसंग जुझ्दाजुझ्दै पनि आफ्ना भावनाहरु ब्यक्तगर्ने उचित माध्याम श्रमजीबि बर्गलाई उपलब्ध गराउन नसक्नु।

मानिसहरुको जीवनचर्यासंग आफूलाई नजोडिकन उचित माध्याम के हो पत्ता लगाउनु सम्भव छैन। जव उचित माद्याम के हो भन्ने नै थाह छैन भने त्यस्तो माध्याम उपलब्ध गराउन सक्ने कुरै भएन। मलाई लाग्छ, जनकार्यमा संलग्न कार्यकर्ताहरुले भन्दा mysansar.com र saajha.com ले बढी प्रवासी नेपालीहरुलाई गोलबन्द गरेका छन।

हामी बिदेशिएका नेपालीहरु मध्ये कतिले राजनीतिको क्षेत्रमा, कतिले समाज सेवाको क्षेत्रमा, कतिले बिकास निर्माणको क्षेत्रमा र कतिले मानव अधिकारको क्षेत्रमा नेपालको लागि भनेर केही न केही गरिरहेका छौं। आफैंमा नेतृत्व क्षमताको र समाजमा बिस्वासिलो नेतृत्वको अभावमा कतिपय दाजु-भाइ दिदी-बहिनीहरु नेपाल प्रतिको आफ्नो माया र केही गर्न नसकेकोमा भएको कुण्ठा र पिडाबोधलाई लागु पेय पदार्थको बोतलसंग साट्न बाध्य छन। आफूलाई नेतृत्वदायी ठान्ने ब्यक्ती र संगठनहरु भने आफ्नै आग्रह र पूर्वाग्रहका आधारमा एक आपसमा पौंठेजोरी खेल्दैमा ब्यस्त छन।

बिभिन्न देशमा नेपाली काँग्रेसका जनसम्पर्क समितिहरु, एमालेका यस्तै समितिहरु र माओबादीका जनप्रगतिशील मन्चहरु कार्यरत छन्। यस्ता संगठनहरुलाई कोइरालाबादी र कोइराला बिरोधी, खनालबादी र ओलीबादी अनि क्रान्तीकारी र सुधारबादीहरु बीचको झगडा मिलाउनै फूर्सद छैन, कहांबाट हेरुन प्रवासी नेपालीहरुको समस्या? कसरी देखुन जनताहरुलाई बिदेशिन बाद्य पार्ने देशभित्रका बग्रेलती समस्याहरु?

हालै रबीन्द्र मिश्रले गैह्र आवासीय नेपालीहरुको नाममा कुरा धेरै काम थोरै भयो भन्ने आसयको खुला पत्र लेख्नु भएको थियो, nepalnews.com मा। बिभिन्न ब्यक्तिका भिन्नाभिन्नै प्राथमिकताहरु हुन्छन। तर पनि मलाई मिश्रजीको खुला पत्र मन पर्यो। कतिपयलाई पुस्तकालयको बिकास मन पर्ला; अरुलाई शिक्षाको बिकास मन पर्ला; कतिपय भौतिक संरचनाको बिकासमा लाग्लान; सिमित मानिसहरु केही न केही गरिरहेकै छन। राजनीति गर्ने वा मानव अधिकारका कुरा गर्नेहरु के बिकासका बिरोधी हुन? होइन भने नेपालको लागी केही गरिरहेका मानिसहरुलाई साथ दिनु अधिकारकर्मी र राजनैतिककर्मीहरुको कर्तब्य होइन र? के हामी हाम्रा कुराहरुलाई कामले पुष्टी गर्न सक्दैनौं?

राजनीति र मानव अधिकारको कुरा गर्ने हो भने हामी मध्ये सबैको प्राथमिकता देश भक्ति र भ्रष्टचारको अन्त्य हुन सक्दछ; बहुसङ्ख्यकको प्राथमिकता बिधिको सासन हुन सक्दछ; त्यो भन्दा अलि कमको प्राथमिकता सामाजीक सुरक्षा युक्त सासन ब्यबस्था हुन सक्छ; हामी मद्ये ठुलै सङ्ख्या कुनै न कुनै रुपको समाजबाद चाहला; समाजबाद र साम्यबादको लक्ष लिएकाहरु पनि प्रशस्तै छन।

काँग्रेस, एमाले, सुधारबादी, क्रान्तिकारी आदी सबैलाई देशको माया र भ्रष्टाचार ऊन्मुलनको चाहना त होला नै। बिधिको साशन त अहिलेको सर्वस्विकृत मन्त्र नै भयो। के यी बूँदाहरुमा सबै सहमतहरुको सझा कार्यक्रम र साझा संगठन निर्माण गर्न सकिंदैन? अहिलेको नेपालमा सामाजीक सुरक्षा युक्त सासन ब्यवस्था, कुनै पनि खाले समाजबाद, बिधिको सासन, जे भएपनि सबै प्रगतिशील कदम नै हुन।

कमरेड माओले क्रान्तीका ३ जादुगरी हतियार मध्ये सम्युक्त मोर्चा पनि एक भन्नु भएको छ। माओले भन्नुभएको संयोक्त मोर्चा भनेको नेपालमा मसाल, एकता केन्द्र र माओबादीले बनाएजस्तो कम्युनिष्ट पार्टीको भातृ संगठनको कुरा गर्नु भएको होइन। यस्तो मोर्चा भनेको खास समाजमा बिद्यमान प्रगतिशील बर्गहरुको सम्युक्त मोर्चा हो। कुनैपनि समाजमा बिभिन्न स्तरमा अग्रगामी सोच राख्ने र यस्तो परिवर्तनकोलागी संघर्षरत सम्पूर्ण ब्यक्तीहरु र समूहहरु आफ्नो अग्रगामी सोचको हदसम्म प्रगतिशील हुन। यस अर्थमा बिभिन्न बूँदाहरु र तहहरुमा सम्युक्त मोर्चाको बिकास गर्नु भनेको लक्षित परिवर्तनलाई नगिच ल्याऊन सहयोग पुर्याऊनु नै हो। देश भित्र बिभिन्न राजनैतिक दलहरुले बनाएका सम्युक्त मोर्चाहरु दलको भातृ संगठनमा परिवर्तन भएपनि बिदेशमा बस्नेहरुले स्वतस्फूर्त मोर्चाहरु निर्माण गरेर उदाहरण बन्न र लक्ष प्राप्तिलाई सजिलो बनाऊन सहायकको भूमिका खेल्न सक्दछन।

कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेझैं ईमान्दारीपूर्वक आमुल परिवर्तनको लक्षमा अगाडी बडेका मानिसहरुमा पनि कार्यनीतिका संबन्धमा बिचारमा बिभिदता आउन सक्दछन। जनबादी केन्द्रीयताको शिद्धान्त लेनिनले प्रत्येक मुण्डका बुद्धिहरुलाई सम्मान गर्दै चुस्त र सक्षम संगठन निर्माण गर्न प्रतिपादन गरेका थिए। ब्यक्ती संगठनको मातहत रहने, तल्लो सांगठानिक निकाय माथिल्लो सांगठानिक निकायको मातहत रहने र अल्पमत को सम्मान र बहुमतको कार्यन्वयन हुने यो प्रकृया आज भोली हरेक किसिमका संगठनहरुमा प्रयोग गरिन्छ। यसको मूल मन्त्र भनेको संगठनको केन्द्रीकरण र बिचारको बिभिदता हो। संस्कृतिक क्रान्तिकालको चिनिया कम्यनिष्ट पार्टीलाई छोडेर, लेनिन पछिका प्राय सबै कम्युनिष्ट पार्टीहरुमा जनबादी केन्द्रीयताको ब्यबहारिक प्रयोग नेतृत्व गर्ने ब्यक्तिको स्वछन्दताका रुपमा देखिए पनि ब्यक्ती संगठनको मातहत रहने भएकोले नेतृत्वको तानाशाही जनबादी केन्द्रीयताको सिद्धान्त र स्वयम् लेनिनबादको बेइज्जती हो। यसर्थ, सम्पूर्ण प्रगतिशील बर्गहरुको संयुक्त मोर्चा बन्न सक्छ भने समान लक्ष राख्ने भिन्नाभिन्नै कार्यनीतिका पक्षधरहरुको बीचमा सहमती र सहकार्यको वातावरण नबन्नु भनेको लक्ष प्रप्तीको बाटोमा पर्खाल खडा हुनु हो। यदी कार्यनैतिक बिमती लक्षलाई दिग्भ्रमित गर्न ऊठाइएको हो भन्ने कुरा प्रमाणीत भएमा उठाउने पक्षलाई सत्रुवत ब्यबहार गरिनु पर्दछ; अन्यथा कार्यनैतिक बिबादले बिबादित पक्षको बीचमा सहमती र सहकार्यको बातावरण धुमिल्यउनु हुँदैन। संस्कृतका गुरुहरुले त्यसै भनेका छैनन "बादे बादे जायते तत्व बोध:"।

ऊपरोक्त अनुच्छेदकै प्रसङ्गमा माओको सयौं फूलहरुलाई फूल्न दिनु पर्ने उक्तिलाई पनि बिर्सन मिल्दैन। "महान अग्रगामी फड्को" को असफलताले उजागर गरेको चिनिया कम्युनिष्ट पार्टीमा बिकसित नोकरशाही तन्त्र (जुन नेपाली साम्यबादी दलहरुमा क्रान्तीको बिजय पहिलेनै बेलाबेलामा देखिने गर्दछ) लाई परास्त गरेर बास्तविक जनतन्त्रलाई स्थापित गर्न छेडिएको सांस्कृतिक क्रान्तीको मुखमा कमरेड माओले यो कुरा भन्नु भएको थियो। वास्तवमा माओका अन्य धेरै निर्देशनहरुको साथसाथै यस उक्तीले सर्वसाधारण जनताहरुलाई स्थानीय र केही हद सम्म केन्द्रीय नेतृत्व बिरुद्ध लड्न प्रेरीत गरेको थियो। सांस्कृतिक क्रान्तीको समयमा चिनका गाउंहरुमा चिनिया कम्युनिष्ट पार्टीको स्थानिय नेतृत्व र केही हद सम्म केन्द्रीय नेतृत्वको एउटा पक्षको बिरुद्धमा स्वतन्त्र प्रगतिशील समूहहरुको उत्थान र नेतृत्वमाथिको कव्जा यो बिचारको बहुलताको प्रोत्साहन बिना सम्भव थिएन। यसर्थ, बिचारको बहुलता र संगठनको एकात्मकता लेनिनबाद र माओबादले देखाएको जनबादी केन्द्रीयताको बाटोमा एउटा चम्किलो प्रकाश हो। माओका केन्द्रीय कार्यलयमा बिष्फोट गर्ने आह्वान र सयौं फूलहरुलाई फूल्न दिनु पर्ने निर्देशनहरुले नेतृत्वले क्रान्तीलाई धोका दिएको खण्डमा कार्यकर्ताहरुको बिद्रोहको अधिकारलाई जनबादी कन्द्रीयताको अनुसासनले छेक्न नसक्ने वास्तविकतालाई पनि पुष्टी गर्दछन।

माथिका तिनवटा अनुच्छेदहरुबाट प्रमाणित गर्न खोजिएको कुरा के हो भने, विचारको बिभिदतालाई सम्मान गर्ने, छलफल र बादबिदलाई समग्र बिकासकोलागि अपरिहार्य द्वन्दको रुपमा स्वीकर्ने र सकेसम्म धेरै तत्कालिन स्थान, समय र परिस्थितिका प्रगतिशील शक्तिहरुलाई निम्नतम साझा कार्यक्रमको आधारमा संगठित गर्ने प्रकृयालाई कार्यान्वयन नगर्ने हो भने यथास्थितिको प्रगतिशील परिवर्तन सम्भव छैन। कुनै पनि कुरालाई कर्यान्वयन गर्नु पूर्व त्यसलाई समग्रमा बुझ्नु, आत्मासात गर्नु र जीवन दर्शन बनाऊनु आवस्यक हुन्छ। तसर्थ, बर्सेनी बिदेशिने राजनैतिक र आर्थिक रुपले महत्वपूर्ण दक्ष र कर्मठ तर देशको यथास्थितिबाट असन्तुष्ट प्रवासी नेपालीहरु माझ बिभिन्न तहमा राजनैतिक रुपले भिन्नाभिन्नै, तर, प्रगतिशील उद्धेश्यहरु परिपूर्तीकालागि सहायक संगठन हरुको निर्माण, परिचालन र बिकास आजको आवश्यकता हो।

समाज परिवर्तनको सर्वोच्च र क्रान्तिकारी दिशाको बिकास गर्नु प्रत्येक क्रान्तिकारीको अपरिहार्य जिम्मेवारी हो। देशका समस्याहरुको अल्पकालीन निकास खोज्नेहरुसंग दीर्घकालीन र समतामूलक निकासको सवालमा कुनै संझौता हुन सक्दैन। समस्याको अल्पकालिन, टालटुले र प्रकारान्तमा प्रत्युद्पादक समाधानका पक्षपाती बिचार र यस्ता बिचारका सम्पूर्ण पक्षपातीहरुबिरुद्ध शैद्धान्तिक र रणनैतिक संघर्षलाई निर्मम ढंगले अगाडी बढाऊनु पर्दछ। तर, समयले समाजको सकारात्मक परिवर्तनकोलागि बिभिन्न तहबाट एकिकृत र प्रगतिशील आन्दोलनको माग गरिरहेको बेलामा हामीहरु भने क्रान्तीकारी र सुधारवादीको बिवादमा सामूहिक लक्षकोलागि संघर्ष अगाडी बढाउन सम्युक्त मोर्चा निर्माण गर्ने तत्कालीन कार्यभारलाई एकातिर पन्छाउन सक्दैनौ। हामी हाम्रो दुइ लाइनको संघर्षलाई आ-आफ्नो क्षेत्रबाट अगाडी बढाऊदै गरौंला। तर, यस संघर्षको सिलसिलामा हामी देशका जल्दाबल्दा समस्यालाई एकातिर पन्छाउन सक्छौं र?

कार्यकर्ता र सर्वसाधारण श्रमजीबिहरु बीच नङ र मासुको सम्बन्ध नभइ जनकार्य अगाढी बढ्न सक्दैन। तसर्थ, प्रवासी नेपाली विकासे, मानव अधिकारवादी र राजनैतिक कार्यकर्तहरुको तत्कालिन कार्यभार भनेको प्रवासी नेपालीहरुको बीचमा ऊनिहरुको सामाजीक, आर्थीक र राजनैतीक गुनासाहरुलाई ब्यक्त गर्ने उपयुक्त माध्यमहरु पुर्या उनु, गुनासाहरुको पहिचान गर्नु र ऊक्त गुनासाहरुलाई प्रगतिशील परिवर्तनको पक्षमा परिचालित गर्नु हो। यसो गर्नकोलागि online forums, mailing lists, blogs र जनचाहना अनुसारका स्थानीय, क्षेत्रीय र अन्तरदेशीय भौतिक संगठनहरु निर्माण गर्नु आवश्यक हुन्छ। भइरहेका संगठनहरुमाथी सकारात्मक सहभागितालाई बढाएर लैजानु प्रगतिशील कार्यकर्ताहरुको थप कार्यभार हो।

नेपालीमा प्रचलित एऊटा उखान छ -- तित्राको मुखै बैरी। हामी मध्ये कतिपयले सही काम गर्दा गर्दै पनि जनसम्पर्कहरु गुमाउंदै गएका छौ; आफूलाई अति राजनीतिकरण गर्नाले। मेरो गाउंमा एकजना सारै छरिता दाई हुनुहुन्थ्यो, समाजमा जस्तो समस्यापरे पनि समाधानकोलागि अग्रसर भईहाल्ने। त्यसैले वहां लोकपृय पनि हुनुहुन्थ्यो।१९९० को परिवर्तन पछि स्वाभविक रुपमा वहांले पनि एउटा राजनैतिक दल समाऊनु भयो। वहांको सधै सकृय रहने बानि; अव के चाहियो र? धारा-पंधेरा, बिबाह-बर्तबन्ध, मरौ-परौ सबै ठांउमा राजनैतिक कुरा। सधै कसैलाई तान्ने, कसैलाई परिचालित गर्ने कसैसंग गरमागरम बहस गर्ने खसखस। हुदा हुदा यस्तो स्थिति आयो कि मनमनै वहांलाई सम्मान गर्नेहरु पनि वहांबाट तर्केर हिंड्न थाले; बेमौसमको राजनीतिबाट बच्न। हामीले यी दाईको अनुभवबाट सिक्नु पर्दछ। नेपालमा बस्ने नेपालीहरु भन्दा प्रवासमा बस्ने बहुसङ्क्यक नेपालीहरु धेरै ब्यस्त छन। ऊनिहरुसंग बेमौसमको राजनीति र कुसमयको समाजसेवा धान्ने न त फूर्सद छ न इच्छाशक्ति। त्यसैले हामीले आफ्नो ईच्छामा जनसमुदायमा राजनीति वा सामाजीक कार्य लिएर जानुको सट्टा ऊनिहरुको ईच्छामा आफूलाई ढाल्न सक्नु पर्दछ।

मानिसको मन कर्मले जितिन्छ बोलिले होइन। लगभग ३% को दरले बढीरहेको प्रवासी नेपाली समुदायलाई सेवा पुर्याउने र ऊनिहरुमा निहित ऊर्जा र असन्तुष्टीलाई प्रगतिशील परिवर्तन तर्फ डोर्यावने हो भने हामीले काम गरेर देखाउनु पर्दछ। भारतीय ज्यादती बिरुद्ध अन्तरराष्ट्रीय दिवस, कपिलवस्तु दिवस, नेपालको बिकासमा लागेका बिकासे संस्थाहरुलाई सहयोग र स्थानीय नेपाली संघ-संस्थाहरुमा सकारात्मक संलग्नता जस्ता कामहरु -- जसमा धेरै साथीहरु संलग्न हुनुहुन्छ -- सकारात्मक कदमहरु हुन। कतिपय अवस्थामा स्वतस्फूर्त र कतिपय अवस्थामा संगठित देखिएका यस्ता कदमहरु हरुलाई संगठित र एकिकृत ढंगले अगाडी बढाऊनु आजको आवश्यकता हो। यस्ता सम्युक्त मोर्चाहरु निर्माण गरेर अघि बढ्ने हिम्मत हामीमा छ भने, सबै भन्दा पहिले बिरोधी बिचार बोक्नेहरुसंग मित्रता बढाऊने र परस्पर बिरोधी बिचारका सम्बाहकहरु बीच साझा र सापेक्षित रुपमा प्रगतिशील चासोहरु पत्ता लगाउने काम गरिनु पर्दछ, जसले संगठन निर्माण र बिकासमा पूर्वाधारको काम गरोस। अस्तु।

शन्दर्भ सामाग्रीहरु

http://esa.un.org/migration/p2k0data.asp - [Viewed on October 23, 2009]

http://www.nepalnews.com/main/index.php/-guestcolumn/1859-open-letter-to-non-resident-nepalis.html - [Viewed on October 23, 2009]

The Unknown Cultural Revolution—Life and Change in a Chinese Village: Dongping Han, Monthly Review Press, 2008
पहिले ऐक्यबद्धताको वेव संस्करणमा प्रकासित भइसकेको

कपिलवस्तु : दक्षिण एसियाको जेरुसालम

(सन्दर्भ - कपिलवस्तु दिवस)

भानु पौड्याल

परिचय

नेपालको दक्षिणी जिल्ला कपिलवस्तु प्राचिन कपिलबस्तु गणराज्यको केन्द्र, सांख्य दर्शनका प्रणेता ऋषि कपिलको तपोभूमी तथा गुरुकुल र शाक्यमुनी बुद्धको जन्मस्थल हो। भनिन्छ, ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले प्राचिनकालमा यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन। शाक्यमुनी बुद्धको खास जन्म स्थल लुम्बिनीमा एक प्राचिन शिवलिङ्ग पनि छ। शाक्यमुनी बुद्धलाई हिन्दूहरुले समेत विष्णुको दशम अवतार मान्ने भएकोले बिश्वभरी छरिएर रहेका हिन्दू तथा बुद्ध धर्मावलम्वीहरु र शान्ती र समानताका पक्षधरहरुकालागी कपिलवस्तु र कपिलवस्तु अन्तर्गत लुम्बिनीको त्यति नै महत्व छ जति यहुदी, क्रृस्चियन र मुस्लीमहरुकोलागि जेरुसालमको महत्व छ।

भौगोलिक अवस्थिती

कपिलवस्तु अन्तर्गतको लुम्बिनी काठमाण्डौ बाट ३०३ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। प्राचिन कपिलवस्तुको राजधानी तौलिहवा लुम्बिनी बाट २० किलोमिटर पश्चिममा पर्दछ भने यस प्राचिन गणराज्यको सानो हिस्सा भारतमा समेत पर्दछ। शाक्यमुनी बुद्धको मामा घर अथवा माता मायादेवीको माइति घर देवदह भने लुम्बिनी भन्दा ३० किलोमिटर पूर्व रुपन्देही जिल्लामा पर्दछ। कक्रुच्छन्द बुद्धसंग सम्बन्धित निग्लिहवा तौलिहवाबाट करिव १० किलोमिटर पश्चिममा पर्दछ। कपिलवस्तु जिल्लाभरिमा शाक्यमुनी बुद्धसंग सम्बन्धित १३८ वटा पुरातात्विक तथा तिर्थस्थलहरु छन। हरियालीले भरिपुर्ण पर्वत शृङ्खलाहरुको काखमा रहेको बुद्ध र हिन्दू धर्मावलम्वीहरुकोलागि पावन कपिलवस्तु र देवदह अन्य पर्यटकहरुकोलागि समेत अत्यन्त रमणीय पनि छन।

ऐतिहासिक पृष्टभूमी

शाक्य बंश

कपिलवस्तु गणराज्यका नेतृत्वकर्ता शाक्यहरु प्राचिनकालमा तत्कालिन अयोध्यामा सासन गरिरहेको इच्छ्वकु बंशवाट आएका थिए। पहिलो इच्छ्वकु राजाकी पहिली श्रीमतीका जेठा छोरालाई आफ्नी आमाको मृत्यु संगै देश निकाला गरीएको थियो। देश निकाला पछी यी राजकुमार आफ्नो मातृभूमीको उत्तर तर्फ पहाडको काछमा बसाई सरे। आफूलाई गौतम गोत्रका सूर्यबंशीय क्षेत्री मान्ने कपिलवस्तुका प्राचिन शाक्यहरुलाई ईतिहादबिद् डिल्लीरमण रेग्मीले यीनै इच्छ्वकु राजकुमारका सन्तानहरु मानेका छन।

शाक्यमुनी बुद्धको जन्म र कपिलवस्तुको उन्नती

सन ६२३ बि. सि. मा शाक्यमुनी बुद्धकी माता मायादेबी माइती घर देवदहबाट पति घर तौलिहवा जांदाजादै बाटैमा बालाक शिद्धार्थ गौतमको जन्म भएको थियो। यीनै बालाक शिद्धार्थ अहिले शाक्यमुनी बुद्धको नामले र उनको जन्मस्थल लुम्बिनीको नामले बिश्व प्रशिद्ध छन। तत्कालीन अवस्थामा उन्नतशील शाक्य गणराज्य कापिलवस्तु शाक्यमुनी बुद्धको प्रशिद्धी संगै सम्पन्न पनि हुंदै गयो। ठुलो संख्यामा स्तूप र बिहारहरु निर्माण भए। बिभिन्न यात्रीहरु र पुरातत्वबिद्हरुको अनुसार सिङ्गो कपिलवस्तु झकिझकाउ थियो। स्वयम सम्राट अशोकले लुम्बिनी र निग्लीहवामा स्तूपहरु निर्माण गरी शिलालेख सहितका पाषाण स्तम्भहरु खडा गरेका थिए। कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रभरी छरिएर रहेका पुरातात्वीक महत्वका स्थान र सामाग्रीहरु प्राचिन कपिलवस्तुको उन्नतीका जीबित साक्षी हुन।

दुर्दशाका शताव्दीहरु

सम्राट अशोकले २६४ बि. सि. मा निग्लीहवा र २४९ बि. सि. मा लुम्बिनी भ्रमण गर्दा कपिलवस्तु उन्नत र बौद्ध भिक्षुहरुको केन्द्र थियो। दुर्भाग्यबश यो सर्वतोमूखी सम्पन्नता धेरै शताव्दीहरु सम्म रहन सकेन। सन ४०३ मा चिनिया यात्री फा सियानले देखेको लुम्बिनी दर्दनाक स्थितिमा थियो। उनले लुम्बिनीमा त्यागिएका बौद्ध बिहारहरु र कपिलबस्तुमा खण्डहर शहर देखेका थिए। फा सियानले भ्रमण गरको करीव २०० बर्ष पछी अर्का चिनिया यात्री तथा बौद्ध भिक्षु हुयान साङ्गले भत्किएका १००० वटा बौद्ध बिहारहरु र चट्याङले भांचिएको अशोक स्तम्भको बर्णन गरेका छन। लुम्बिनी र कपिलवस्तुमा बचेखुचेका मूर्ती र बिहारहरु पनि चौधौं सताव्दीमा आक्रमण गर्न आएका मुगलहरुले तालिवानले अफ्घानस्तानमा बामियां बुद्धको मूर्तीहरु ध्वस्त पारेको शैलीमा सङ्हार गरिदिए। त्यसपछी लगभग बिर्सिएको लुम्बिनीलाई सन १११३ मा बर्तमान पश्चिम नेपालमा पर्ने एक गणराज्यका तत्कालीन राजा रिपु मल्लले दर्शन गरेपनि कपिलवस्तुको उद्दारमा कुनै काम हुन सकेन। लुम्बिनी निर्जन जङ्गलमा परिणत भयो। १८९६ मा पाल्पाका तत्कालीन गभर्नर खड्ग सम्सेर ज. ब. रा. ले उत्खनन र जर्मन पुरात्त्वबिद् डा. एन्टोन फुहररले अशोक स्तम्भको प्रमाणिकरण नगरेसम्म कपिलवस्तु आफ्नो अस्तित्वको खोजीमा तड्पिरह्यो।

खड्ग सम्सेर, डा. फुहरर र उत्खननका सिलसिलाहरु

सौखिन पुरातत्वबिद् खड्ग सम्सेरले १८९६मा लुम्बिनीमा आशोक स्तम्भ फेलापारेपछि तत्त्कालिन ब्रिटिस इन्डियाका कर्मचारी डा. एलोइस एन्टोन फुहररले उत्खननलाई अगाडी बढाए। डा. फुहररको उत्खनन र डिसेम्बर १, १८९६ मा अशोक स्तम्भको प्रमाणिकरण लुम्बिनी र समग्रमा कपिलवस्तुको संरक्षण र बिकासकोलागि कोसे ढुङ्गा प्रमाणीत भयो। अशोक स्तम्भमा भएको शिलालेख, जसमा अशोकको भ्रमण र बुद्ध प्रतिको उनको समर्पण, बुद्धको जन्मस्थान लुम्बिनी भएको जानाकारी र बुद्ध जन्मस्थलका बासिन्दाहरुलाई अशोकले गरेको कर माफीकोबारेमा बर्णन गरिएको छ, बुद्ध सम्बन्धी अनुसन्धानको आधार बन्यो। सन १८९९ मा पि के मुखर्जीले उत्खननलाई अझ अगाडी बढाए भने १९६१ मा देवला मित्राले इटाले बनेको मन्दीरको भग्नावसेष र त्यस भित्र मायादेबीले बुद्धलाई जन्म दिएक अवस्था झल्किने मूर्ती फेला पारिन। यिनै पुरातत्वबिद्हरुका अथक परिश्रम र अद्वितीय उपलब्धीहरुले गर्दा लुम्बिनी १९९७ देखी UNESCO को बिश्व सम्पदा सूचिमा सूचिबद्ध छ।

उ थान्त र सम्युक्त राष्ट्र संघ

सम्युक्त राष्ट्र संघका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा कपिलवस्तुको भ्रमण गरे। उनको यस भ्रमणले कपिलबस्तुलाई सम्बर्धन र बिकासको कामलाई अन्तरराष्ट्रीय चासोको बिषय बनाउन सहयोग गर्योक। उ थान्तकै प्रयासको परिणाम स्वरुप १९७० मा १३ देशहरुको प्रयासमा गठित लुम्बिनी बिकास कोश लुम्बिनीलाई अन्तरराष्ट्रीय धार्मिक पर्यटन तथा शान्ती केन्द्रको रुपमा बिकासित गर्न प्रयत्नरत छ। उ थान्तकै पद चिन्ह पहिल्यउंदै १९७९ मा सं. रा. स. का नया महासचिव कुर्त वाल्ढेइमले जापानिज बष्तुशास्त्री केन्जो ताङ्गेले तयार पारेको गुरु योजानालाई कार्यान्वन गर्नकोलागी आर्थिक सहयोग प्रदान गर्न बिश्वका देशहरु तथा संघ संस्थाहरुलाई आह्वान गरेका थिए। १९९३ मा बुत्रोस बुत्रोस घालीले र १९९८ मा कोफि अन्नानले समेत कुर्तकै भाषा दोहोर्या्एपनि लुम्बिनीको अपेक्षित द्रुत गतिमा बिकास भने हुन सकेको छैन।

सन १९८९ मा लुम्बिनीको बारेमा तत्कालीन सं. रा. स. का महासचिव हावियर पेरेज द कुयारले लुम्बिनीलाई सांस्कृतिका आदान प्रदान र शान्तीको केन्द्रको रुपमा ब्यख्या गरेका थिए। बर्तमान माहासचिव बान कि मुनले २००८ मा लुम्बिनी र गौतम बुद्धको बारेमा बोल्ने सिलसिलामा बुद्धको शिक्षाले बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ती, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न सहयोग पुर्यारउने कुरामा आफ्नो बिश्वास रहेको कुरा ब्यक्त गरेका छन। यसर्थ, बिश्वका बिभिन्न देशहरु आन्तरीक र बाह्य स-शस्त्र द्वन्द र बिदेशी कुटनैतिक दबाबमा फसिरहेकोबेला उत्पादनका साधनहरुको समानुपातिक बितरण र दीगो शान्तीको पक्षमा सम्युक्त राष्ट्र संघ दह्रो रुपमा उभिने छ र शान्ती, समानता र सह-अस्तित्वका प्रचारक शाक्यमुनी बुद्धको जन्स्थलको संरक्षण र बिकासमा बिशेष जोड दिनेछ भन्ने आशा गर्न सकिन्छ।

कपिलवस्तु सम्बन्धी भ्रमहरु

यथेष्ट प्रमाणहरुले नेपालमा अवस्थित कपिलवस्तु जिल्ला प्राचिन कपिलवस्तु गणराज्य भएको कुरा सिद्ध गरिसक्दा पनि अन्तरराष्ट्रीय बुद्धीबजारमा केही भ्रमहरु छरिएका छन। जानेर वा नजानेर। केही भ्रमहरु पश्चिमी लेखकहरुवाट छरिएको छ भने केही भारतीय बिस्तारबादी सासक बर्गबाट।

पश्चिमी लेखकहरुले बुद्धलाई भारतीय राजकुमार भन्ने गरेका छन। हिन्दू धर्म शास्त्रमा उल्लेखित दन्त्यकथाका सम्राट भरत इतिहासको कुनै पानामा पनि भेटिदैनन। माहाभारत र रामायणले समेत बर्तमान दक्षिण एसियमा बिभिन्न राज्य/गणराज्यहरु भएको देखाउछन। यसर्थ चन्द्रगुप्त मौर्य भन्दा पहिले बिशाल भारत केही पौराणिक लेखकहरुको कल्पनामा मात्रै थियो। ईतिहास अनुसार चन्द्रगुप्त मौर्य बुद्ध जन्मेको करीव पौने दुई सय बर्षपछि राजा भएका थिए। यस हिसाबले चन्द्रगुप्त मौर्यको राज्य भित्र कपिलवस्तु गणराज्य पर्ने कुरा पनि आएन। त्यो एक स्वतन्त्र गणराज्य थियो। त्यो गणराज्यका प्रमूख क्षेत्रहरु हालको नेपालमा पर्दछन भारतमा हैन। त्यस कारण शिद्धार्थ गौतम या शाक्यमुनी बुद्ध प्राचिन कपिलवस्तु गणराज्यका राजकुमार थिए भारतका हैन।

केही भारतीय तथाकथित बिद्वानहरु अशोक स्तम्भको प्रमाणिकतामाथि समेत प्रश्न चिन्ह उठाउने कोसिस गरिरहेका छन। यसरी प्रश्न उठाउनेहरुको लाममा एक बेलायती लेखक चार्ल्स आलेन पनि पर्दछन। तर भारतीय हरुको नियत मा खोट छ भने श्री आलेनको बुझाईमा। चार्ल्स आलेनले लुम्बिनी अहिले मानिएको लुम्बिनीमा नभएर बाणगङ्गाको किनारामा रहेको तिलोराकोट तिर हुने कुरा अनुमान लगाएका छन। प्रमाणित कुरा के हो भने शिद्धार्थ गौतमको बालापन तिलौराकोटामा बितेको थियो।

माहायान बौद्धमार्गीहरुका अनुसार साक्यमुनी बुद्ध भन्दा पहिले अरु बुद्धहरु पनि थिए। कनकमुनि, कक्रुछन्द, दीपङ्कर र तारा आदी शाक्यमुनी बुद्ध भन्दा पहिलेका बुद्धहरु हुन। सम्राट अशोकले खडागरेको निग्लिहवाको स्तम्भबाट पनि महायानीहरुको दाबिलाई पुष्टी गरेको छ। लुम्बिनीमा स्थापित स्तम्भलाई शाक्यमुनी बुद्धलाई समर्पण गरेजस्तै लुम्बिनीमा भन्दा १५ वर्ष पहिले निग्लिहवामा स्थापित स्तम्भलाई उनले कनकमुनी बुद्धलाई समर्पित गरेको कुरा लेखिएको छ। बुद्ध बिहार र स्तुपहरु सम्सार भरिनै एकै खाले देखिन्छन। यसर्थ केरलामा वा ओरिसामा स्तम्भ, बुद्ध बिहार र स्तुपहरु भेटिए यसर्थ कपिलवस्तु त्यहि हो भन्नु बौद्विक बेईमानी हो। भारतको पिपराहवामा स्तुपहरु भेटिए भन्दैमा लुम्बिनीको अशोक स्तम्भना लेखिएको शिलालेख मेटिने हैन।

बर्तमानमा लुम्बिनी

लुम्बिनीलाई अन्तरराष्ट्रीय तिर्थ तथा शान्ती केन्द्रको रुपमा बिकास गर्ने काम भईरहेको छ। लुम्बिनी बिकास कोष र ईन्जिनीतरिङ अध्ययन संस्थान, पुल्चोक क्यम्पस आफ्नो आर्थिक, भौतिक र बौद्विक क्षमता अनुसार अथक परिश्रम गरिरहेका छन। मायादेबी मन्दिर, अशोक स्तम्भ, पुस्करिणी पोखरी आदीलाई पुनर्स्थापित गरिसकिएको छ। भारत लगायत बिभिन्न देशका बौद्ध संध संस्थाहरुले स्तूपहरु, बिहारहरु र चैत्यहरु निर्माण गरेका छन। कपिलवस्तु अझै पनि सबा दुई हज्जार बर्ष अघिको बैभव को प्रतिक्षामा छ।

उपसंहार

नेपालका हिसावले अहिले राष्ट्रीयता र राष्ट्रीय एकताका सूत्रहरु र ति सूत्रहरुलाई ब्यबहारिक पुष्टी गर्ने धरोहरहरुको खोजी र बिकासको समय हो। शाह राजशाहीले थोपरेको राष्ट्रीयता र राष्ट्रीय एकताका परिभाषाहरुलाई खारेज गर्दै नय जनआधारीत र जनपृय परिभाषाहरुको बिकास गर्ने समय हो। शाक्यमुनी बुद्ध र उनको जन्मस्थल नेपालीले मात्र हैन सारा विश्वले नै गर्व गर्ने धरोहर भएकाले राष्ट्रीयता र राष्ट्रीय एकताका धेरै प्रतिकहरु मध्ये सबैभन्दा दरीला प्रतिक हुन। बुद्धको शान्ती, समानता, र चराचर जगतको सह-अस्तित्वको सन्देशलाई एक धर्मको सांघुरो दायराभित्र राख्न सकिदैन। मूर्ती-पूजाका बिरोधी शाक्यमुनी बुद्धले आफूलाई कहिल्यै नया धर्मको जन्मदाता र ईश्वर भएको घोषणा गरेका छैन। मानवताका पुजारी बुद्धलाई एउटा धर्मको दायराभित्र बाध्नु उनि र उनको दर्शन प्रति अन्याय गरेको ठहरिन्छ। बुद्ध सम्पूर्ण मानव जगतका उत्कृष्ठ शिक्षक हुन। यसर्थ, बुद्ध र लुम्बिनीको बिकास र प्रचार प्रसार गर्नु प्रत्येक नेपालीको कर्तब्य हो।

विश्वका हिसावले हेर्ने हो भने आन्तरीक र बाह्य स-शस्त्र युद्धहरु, कमजोर राष्ट्रहरुमाथि बिदेशी कुटनैतिक/राजनैतिक हस्तक्षेप, असमानता र अन्याय बढिरहेको परिप्रेक्षमा सं. रा. स. का महासचिव बान कि मुनले भने झै बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ती, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न वुद्ध र उनका शिक्षाको बिशेष महत्व छ। देश, जाती र धर्मको आधारमा इतिहार र तथ्यहरुलाई तोडमरोड गरियो भने दक्षिण एसियाको जेरुसालमले भबिष्यमा बर्तमान जेरुसालमको नियति भोगनु पर्ने हुन सक्दछ। शन्तीका दूतको जन्मस्थल शान्ति, उत्पदनका साधनहरुको समानुपातिक बितरण, सामाजीक न्याय र भतृत्वको बिकास गर्न प्रयोग हुनु सबैकोलागी श्रेयस्कर छ। मानव जातिवीच बिभाजनका रेखा कोरिनु भन्दा समानताका बिन्दुहरु खोजिनुले दीगो शान्ती, समानता, सामाजिक न्याय र सम्बृद्धिको पक्षमा विश्वलाई डोहोर्यासउने छ। बुद्धका सकारात्मक शिक्षाहरुको अध्यन र उनका बिचार र उनको जन्मसंग सम्बन्धित स्थान र वस्तुहरुको निरन्तर प्रचार यस दिसामा हामी सबैले पुर्याचउन सक्ने योगदान हुन सक्दछन। यसर्थ विश्वका सबै न्याय र दीगो शान्तीका पुजारीहरुले कपिलवस्तु र लुम्बिनीकोर भ्रमण, प्रचार प्रसार र बिकासको अभियानमा हातेमालो गर्नु अत्यन्त आवश्यक छ। अस्तु।



शन्दर्भ सामाग्रीहरु

1. http://www.snowlionpub.com/pages/appeals10.html

2. http://www.lonelyplanet.com/nepal/the-terai-and-mahabharat-range/lumbini/history

3. http://www.lumkap.org.uk/Lumbini%20On%20Trial.htm

4. http://www.lumbinitrust.org/messageunsg.htm

5. Stupas of previous Buddha, B. Gosh , http://himalaya.socanth.cam.ac.uk/collections/journals/bot/pdf/bot_1989_03_03.pdf

6. Ancient inscriptions of Nepal, D. R. Regmi, Abhinav Publications, New Delhi, 1983

7. Lumbini for peace and pilgrimage, (Ancient Nepal, Journal of Department of Archaeology, Government of Nepal, October 1967), T .R. Vaidya

8. The Buddha and Dr Fuhrer: An Archaeological Scandal, Charles Allen, Haus Publishing Limited, UK, 2008
पहिले ऐक्यबद्धताको वेव संस्करणमा प्रकासित भैसकेको