बिषम नेपाली
कुनै पनि कम्युनिष्ट पार्टीले आफुलाई श्रमजीबि बर्गको दल मान्दछ। यो हिसाबले कम्युनिष्ट पार्टी भित्र गैह्र श्रमजीबि बर्गको प्रतिनिधित्व हुन सक्दैन। तर, नेपाल जस्तो सामन्ती आर्थिक र सामाजीक सम्बन्ध सहितको अर्ध औपनिबेशीक दलाल नोकरशाही पूँजीपतीको राज्य भएको देशमा कम्युनिष्ट पार्टीले औद्योगिक श्रमजीबि बर्ग, असङ्गठित क्षेत्रका निम्न वैतनिक कामदार हरु, कृषि मज्दुर, साना किसान, मद्यम किसान, घरेलु तथा कुटिर ऊद्योगीहरु, निम्न बैतनिक कर्मचारीहरु लगायत राष्ट्रीय पूँजीपतीहरु तथा अन्य राष्ट्रबादी शक्तिहरुको समेत प्रतिनिधित्व गर्नुपर्ने भएकोले पार्टी भित्रको बर्ग समिकरणको यथार्थपरक लेखाजोखा र ब्यवस्थपान सफल जनसंघर्षको एक महत्वपूर्ण पाटो हुन आऊंछ। यस सम्बन्धमा स्थापित माओबादी मान्यता के हो भने, श्रमजीबि बर्गको नेतृत्वमा अन्य सबै क्रान्तिकारी र ढुलमुले बर्गहरुलाई बृहत राष्ट्रीय हित र बर्गमूक्तिकोलागि परिचालित गरीनु पर्दछ।
गैह्र श्रमजीबि बर्गहरुबाट आएका एङ्गेल्स, चाऊ एन लाइ, लेनिन, हो चि मिन्ह जस्ता कम्युनिष्टहरुले आफुलाई श्रमजीबि बर्गमा रुपान्तरण गरेका छन् र गैह्र क्रानतीकारी बर्गउद्भव भएका क्रानतीकारीहरुले गर्नुपर्ने पनि त्यही हो। नेपालमा निम्न औध्योगिक बिकास र सङ्गठित र सचेत श्रमजीबि बर्गको बिकासको कमीले गर्दा कम्युनिष्ट पार्टीको नेतृत्व सधै गैह्र श्रमजीबि बर्गहरुबाट आएका ब्यक्तिहरुको हातमा छ। हाम्रो बिडम्बना के हो भने, आफूलाई मार्क्स, लेनिन र माओको हाराहारीमा राखेर आफ्नै बाद र पथ ऊत्पादन गर्ने नेताहरुले स्वबर्गको सर्बहराकरणको सट्टा सोसक बर्गमा रुपान्तरणको अवसरको खोजी र ऊपयोग गर्ने काम गरेका छन्। परीणामत: दल भित्रको आन्तरीक संघर्ष मित्रवत हुनको सट्टा सत्रुतापूर्ण बर्ग संघर्ष भइरहेको वा हुनु पर्ने परीस्थिति नियमित रुपमा देखा पर्ने गरेका छन्।
महान बैज्ञानिक समाजबादी क्रन्तिको शङ्खघोष गर्दै स्थापित नेपाल कम्युनिष्ट पार्टीलाई २००७ सालको परिबर्तनसंगै प्राप्त सुबिधाभोगी अवसरलाई आफनो जीबन दर्शन बनाईसकेका रायमाझी गुटले दरवारको पाऊमा बुझाएको घटना होस या पञ्चायत कालका सोभियत ब्लकका दलहरुको बक्तब्यबाजी र सोभियत संघको सयर होस, कमलराज रेग्मी र डी पी अधिकारीको पञ्चायत प्रवेश होस या एमालेको सोसक बर्गीय पार्टीमा रुपान्तरण होस, सबैलाई यसै नेत्तृत्वको बर्ग रुपान्तरणको सूत्र प्रयोग गरेर यथार्थ मूल्याङ्कन गर्न सकिन्छ। रायमाझी गुटसंगको आन्तरीक बर्ग संघर्षले पार्टी फुटबाट निकासा पाएको थियो भने एमाले भित्रको आन्तरीक बर्ग संघर्षले बहुसङ्ख्यक सर्बहाराबादी कार्यकर्तालाई नेपाली बाम आन्दोलनको क्रान्तीकारी धारलाई प्रतिनिधित्व गर्ने तत्कालीन नेकपा (माओबादी) मा प्रवेश गर्न प्रेरीत गरेको थियो। यस हिसावले खास दलमा र खास समयमा या त कमल राज रेग्मी जस्ताले हारेर पलायनको बाटो रोजेका छन या शिवराज गौतम जस्ताले हारेर अन्य क्रान्तीकारी दल रोजेका छन। एनेकपा (माओबादी) मा देखिएको बर्तमान आन्तरीक बर्ग संघर्षलमा कसले हार्ने हो, कसले जित्ने हो र कसरी निकासा पाऊने हो हेर्न बाँकी नै छ।
नेकपा (माओबादी), जसले बिगतमा नेपाली बर्ग संघर्षलाई मूलत: सही ढङ्गले अगाडी बढाएर निश्चित सफलता हासिल गर्यो, भित्र आन्तरीक बर्ग संघर्षको कुरा गर्दा कतिपय ब्यक्ती र समूहलाई नमिठो लाग्न सक्दछ। तर, यथार्थ यही हो। हालै एनेकप (माओवादी) का केन्द्रीय सल्लाहकार शिवराज गौतमले केन्द्रीय कमिटीको बैठकमा एमालेको दक्षिणपन्थी बिचलनबाट आजित भएर नेकपा (माओबादी) मा आएको यो पार्टी पनि त्यही बाटोमा गएपछी अब जनता कहां जाने भन्ने आशयको प्रश्न गर्नुभएछ। वहांको सोधनी मलाई शान्दर्भिक लाग्यो। नेताहरुको जीवन शैलीमाथि बिभिन्न कोणबाट शान्दर्भिक प्रश्न चिन्ह तेर्ष्याइएका छन। हालै क्यनडाको भेनकुवरमा बिगत बिस बर्षभन्दा बढी रहेका र स्थापित मेरा निकटतम मध्देका एक प्रगतिशील मित्र, जो पूर्व मालेको पृष्टभूमीबाट आउनु भएको हो, संग अन्तरङ्रग कुराकानीको अवसर मिलेको थियो। वहाँको प्रगतिशील जिवन शैली प्रती म सधै इर्ष्या गर्दछु। केही समय पहिले आफूलाइ उपयुक्तहुने अग्नीवाहन (कार) किन्नुभन्दा पहिलेसम्म अत्यावश्यक भएको अवस्थामा मात्र बाहन साझेदारी समूहमा साझेदारीको बाहन प्रयोग गर्नु हुन्थ्यो। मेरो त्यो साथीले एनेकपा (माओबादी)मा पन्पिएको अग्नीबाहन प्रेमको बारेमा ब्यक्त गरेको असन्तुष्टीहरु म लेख्यभाषाका सव्दहरुबाट बर्णन गर्न सक्दिन। मेरा अर्का जनयुद्धको रापमा केहीसमय तापिएका एमाले पृष्टभूमीबाट आएका साथी टोरोण्टोमा बस्नुहुन्छ। वहांले नेपालका प्रगतिशील शक्तीहरुलाई स्वयमसेवकहरु पठाएर सहयोग गर्नुपर्ने कुरा उठाउनु भएको थियो। केही समय पछी भन्न थाल्नु भयो 'नेपालमा चहिएको जनशक्ती र धनशक्ती होइन मनसक्ती हो। नेताहरुका ब्यक्तीगत वेवसाईट बन्न र अद्याबधी हुन सक्छन भने समूहीक वेवसाइट चलाउन किन सक्दैनन्? किन हामीले गासकटाएर स्वयमसेवाको ब्यवस्था गर्नु पर्यो?' टोरोण्टोकै उस्तै पृष्टभूमी भएका साथी शैदान्तिक अन्यौल देखेर निरास हुनुहुन्छ भने न्यूयोर्कका मसालको पृष्टभूमी भएका साथी राजाबादी र जनयुद्ध बिरोधी 'कमरेड'हरुको बिगबिगी र जनयुद्ध हांकेका साथीहरुको बेहाल देखेर बिचलित हुनुहुन्छ। सोभियत संघमा पढ्दा त्यसको पतनलाई नजिकबाट नियालेका प्रगतिशील मित्रको कथन छ 'ब्यक्तीबादले त्यत्रो विश्वशक्तीलाई त रसातलमा पुर्यायो भने एनेकप (माओबादी) का के कुरा'। अर्का मेरा सदासर्बदा माओबदी पृष्टभूमी भएका साथी त दलको नेतृत्व दक्षणपन्थी संसोधनबादी भैसकेको कुरा ठोकुवाका साथ भन्न पछि पर्नुहु्न्न। यदी उत्तर अमेरीकामा बस्ने केही साथीहरुमा यस्तो निरासा र बिद्रोह मिश्रित भवना मौलाइरहेको छ भने, नेपालमा उज्ज्वल भबिष्यलाई लक्षबनाएर जनयुद्धको अग्नीपरीक्षामा खरो उत्रिएका मित्रहरुको मनमा के गुज्रीरहेको होला? मलाई लाग्छ शिबराज गौतमको प्रश्न एमाले हुंदै वा कुनै अरु नेपाली बामपन्थी दल हुंदै माओबादीलाई समर्थन गर्ने र नेकपा (माओबादी) को एक आह्वानमा जीवनलाई बलिबेदीमा चडाउन तत्पर हुने मानिसहरुको मात्रै प्रश्न हैन, यो बहु सङ्ख्यक नेपली र नेपालको भलो चाहने प्रगतिशील ब्यक्तीहरु र समूहहरुको प्रश्न हो जसको उत्तर आन्तरीक बर्ग संघर्षमा निहित छ।
सामान्यतय रायमाझीदेखी एनेकपा (माओबादी) को बिद्यमान नेतृत्वसम्मका नेताहरुले ब्यबहारबादको नाममा आफूभित्र पन्पिदैगएको सुबिधाभोगी निम्नपूँजीबादी दक्षणपन्थी भड्काउलाई ढाकछोप गर्न केहीहद सम्म सफल हु्दै आएका छन। बर्तमान एनेकपा (माओबदी) को स्थिती मलाई २०४८ साल तिरको नेकपा (माले/एमाले) संग जोडिएको एउटा घटनासंग दाज्नु शान्दर्भिक लागेको छ। २०४६ सालको जनाआन्दोलन ताका नेकपा (माले) को खुला राजनिती प्रजातान्त्रिक राष्ट्रीय एकता मञ्च मार्फत हुने गर्दथियो। त्यसबेलाको राष्ठ्रब्यापी शसश्त्र जनबिद्रोहको कार्यनीति आनुसार पार्टीलाई भूमिगत राख्नुपर्ने बाद्यात्मक आवश्यकता थियो। पार्टी नेतृत्वले भने पार्टीलाई खुला गर्ने निर्णय गरेर कार्यकर्ताको सहमती लिने नाटक गर्दै थियो। त्यसकालागी राष्ट्रब्यापीरुपमा कार्यकर्ता भेलाहरु आयोजना गरीए। म पनि बिभिन्न मोर्चाहरुमा सामेल भएको हुनाले समान उद्देश्यका तिनवटा छुट्टाछुट्टै कार्यकर्ता भेलामा समेल हुने अवसर मिल्यो। नेताहरुले जनता र आम कार्यकर्ताले पार्टी खुला गर्ने माग राखेकाले खुला गर्नैपर्ने दलिल पेश गर्दै हाम्रो राय मागे। तिनवटै भेलामा बहुमत हामीले पार्टी खुला हुनु नहुने र बहुमत नेतृत्वले कानूनी मोर्चामा भाग लिनु नहुने माग गर्यौं। मैले म आफैं संलग्न भएको एउटा भेलाको बहुमतले पार्टी खुला गर्न माग गरेको भन्ने झुट अर्को भेलामा मैले आफ्ना नेता मानेकाहरुको मुखबाट सुन्नु पर्यो। मलाई थाहा छैन, तर कहीं अहिले एनेकप (माओबादी) को भेलामा पनि यस्तै भइरहेको त छैन? अर्को मिल्दो प्रसङ्ग, त्योबेला पटक पटक माले नेतृत्वले बहुमत नेतृत्व संसदीय मोर्चामा नजाने झुटो प्रतिबद्धता कार्यकर्ता भेला र सार्वजानिक संचार माद्यमहरुमा ब्याक्त गरेको थियो र नेकपा (माओबादी) ले पनि सम्बिधान सभाको चुनावहुनु अगडी पुरै नेतृत्व चुनावमा नजाने भनेको थियो। आखिर दुइटै कथनहरु हावादारी बकवास साबित भए।
पाचौं महाधिबेशन सम्म आइपुग्दा नेकपा (माले) बाट नेकपा (एमाले) भइसकेको दक्षिणपन्थी संसोधनबादी गुटले राष्ठ्रब्यापी शसश्त्र जनबिद्रोहको कार्यनीति छोडेर संसदीय मोर्चालाई(?) संघर्षको(?) केन्द्रबिन्दु बनाईसकेको थियो र यसलाई मार्क्सबादको श्रृजनात्मक 'प्रयोग'को नितान्ता नौलो 'फड्को'को रुपमा बहुदलीय जनबादी शैदान्तीक जलप लगाइसकेको थियो। पञ्चहरुको पार्टी प्रबेशको बाढीलाई राष्ट्रबादीहरुको प्रबेशको खास्टोले छोपिन्थ्यो र क्रान्तीकारी साथिहरुका प्रस्तावहरुलाई अब्यबहारीक भनिन्थ्यो। शिवराज गौतम, भिष्म धिमाल, वासु शाक्य, अम्बिका सावाँ र जनयुद्धका हज्जारौं सहीदहरु जास्ता हज्जारौं नेता कार्यकर्ताहरु बिद्रोह गरेर नेकपा (माओबादी) मा गए। धेरै मैले एमालेका जुझारू साथीहरु भनेर चिनेजानेकाहरुले जनयुद्धमा सहादत प्रप्त गरे। धन्य छन सहीदहरु, धन्न तिनिहरुले पेरीस डाडामा नेताहरुको अग्नीबाहनका लाम र सहयोद्धा कमरेडहरुको पेटमा चाम हेर्न परेन। यास्तो थियो एमाले को स्खलान को कथा। एमालेबाट बिद्रोह गरेर माओबादी भएका हरु सहादत बरण गर्दै थिए भने एमाले प्रतिगमन आधा सच्चिएको ब्यबहारबाद बांड्दै थियो। आगे सबैलाइ जगजाहेरै छ।
दिर्धकालीन जनयुद्धबाट प्रचण्डपथको खाँटी शैदान्तीक बिकास हुदै 'फ्युजन' को सिद्धान्त अन्तर्गत दिल्ली दरबारबाट निश्रृत १२ बुँदे ब्यबहारबाद पछि भारतीयलागायतका विश्व सम्यबादी आन्दोलनका योद्धाहरुले समेत अनुसरण गर्नुपर्ने शान्तीपूर्ण आन्दोलन को सदन, सडक र सरकार को मोर्चामा छ नेकपा (माओबादी) हुंदै एनेकपा (माओबादी) बनेको एक्काइसौं शताब्दीको जनबादी पार्टी। पहिले एमाले नेपाल जस्तो सानो देशमा जनयुद्ध ब्यबहारिक छैन भन्थ्यो माओबादीले सम्भव प्रमाणित गरेर देखाईदियो। अहिले माओबादी परिस्थिती अनुकुल छैन भन्दै छ सिधै हामी गर्न चाहदैनौ भन्नुको सट्टा। अनियन्त्रित नाफामा नियन्त्रण गरेर श्रमिकको सोषण बिरुद्धको हक कायम गर्ने कुनै योजना छैन। हिजो जुन संसदले आफ्ना सदस्यहरुलाई खसीबोका सरह किनबेचको साधन बनायो त्यसैलाई बेलगाम शक्तिको स्रोतबनाउने संबैधानिक प्राबधानको प्रस्तावना तेर्स्याइएको छ, जनाताको आफ्ना प्रतिनिधिहरुलाई प्रत्याह्वनको अधिकार बिनै। जनयुद्धकालमा लागु गरीएका क्रान्तीकारी भूमीसुधारका कार्यक्रमहरु उल्ट्याइएका छन र पार्टीद्वारा प्रस्ताबित संबिधानमा त्यस्तो कुनै धारा छैन जसले सबैखाले सोषण बिरुद्ध जनताको हकको सुनिस्चितता प्रदान गरेको होस। फोस्रो नागरीक सर्वोच्चता भित्र जनजीबिकालाई प्रत्यक्ष असरपार्ने जसको जोत उसको पोत, दलीतको राज्यको सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व, लैङ्गीक बिभेदको अपराधीकरण, सबैकालागी गास बास शिक्षा र श्वास्थ्य सेवाको सुनिस्चितता जस्ता कार्यक्रम र नाराहरु छैनन। तर, किन हो कुन्नी बिद्रोहको धङ्धङीले अझै छोडेको छैन। सायद खुला राजनीतिमा एमालेले जति समय नगुजारीसकेको भएर होला वा आन्तरीक बर्ग संघर्षमा निमछरा बर्गका अब्यबहारीक प्रतिनिधिहरु डटिरहेर होला। अब्यबहारिक मातृकाले मातृ पार्टी पुनर्गठन गर्नु परेको देखेर 'कमरेड' सूर्यबहादुर सेन वली थकथकी गर्दैहोलान किन यसलाई पहिलेनै ऋषि देबकोटा जस्तै 'आजाद' बनाइन भनेर। जाजरकोटका जनताहरुले पनि सुने होलान उनिहरुले जीवनजल नपाएर मर्नु परिरहेको बेलामा हिजो त्यही गांऊको त्यही घरमा सेल्टर लिने कमरेड गाडीबाट खुट्टा भूमीमा टेक्दैन भनेर। कठै एमालेको आन्तरीक बर्ग संघर्षमा हारेका शिवराज गौतम, भिष्म धिमाल, वासु शाक्य, अम्बिका सावाँहरु अब कहं जानु क्रन्तीको सपना वा जनताको सपना पूरा गर्न?
नेपाली क्रान्तीकारीहरु बर्ग संघर्ष सन्चालन गर्न अरु धेरै देशका क्रान्तीकारीहरु भन्दा सफल छन, तर यो कुरा आन्तरीक बर्ग संघर्षमा लागु हुन सकेको छैन। रायमाझी जति राजाबादी भएपनि क्रान्तीकारी कार्यकर्ताको भावना बिपरीत नेतृत्व उसैको हातमा रहन्छ। शिबराज गौतमहरु एमालेको नेतृत्वसंग हारेर माओबादी क्रान्तीको बाटो पैल्याउछन र मातृका यादबहरु नेतृत्वको सामना गर्न नसकेर नयां दल निर्माण गर्दछन। कति हार्ने? कति भाग्ने सुबिधाभोगी दक्षणपन्थी संसोधनबादी नेतृत्व संग? माओबादीहरुले माओको बिचारलाई मानेर 'ठोस स्थितिको ठोस बिस्लेषण' गर्दै 'मुख्यालयमा आग्नेय अश्त्र प्रहार गर्ने' समय आइसकेको प्रतीत हुन्छ। नेताको बर्ग परिबर्तन भैसकेपछी पनि हिजोको ईतिहासलाई हेरेर नेता मानिरहनु भनेको आमा बाँदरले मरेको बच्चालाई नकुहिन्जेल बोकेर हिड्नु जस्तै हो; कुहिएर भैंमा झर्दा धेरै ढिलो भइसकेको हुन सक्छ र बच्चा मार्ने रोगले आमालाई पनि मार्न सक्दछ।
Saturday, September 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment