Saturday, September 12, 2009

एमाले भित्रको बर्ग संघर्ष

भानु पौड्याल
कुनै जमाना थियो, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माले) को शैद्धान्तिक मूखपत्रको नाम ‘वर्ग संघर्ष’ थियो। त्यसो त पूर्वको कोअर्डिनेशन केन्द्रमा पश्चिमको मूक्ति मोर्चा समूह मिलेपछि थप मूखपत्र ‘मूक्ति मोर्चा’ पनि प्रकाशित हुन थाल्यो। त्यो जमानाको कुरा गर्दा यी दुई मूखपत्रहरुले पार्टी बर्ग सङघर्षको निरन्तर बिकासको माध्यामबाट श्रमजीबि वर्गको मूक्तिकोलागी लड्ने जोताहा किसानहरु र मज्दुरहरुको मोर्चा हो भन्ने देखाउंथे। यो जमानाको कुरा गर्दा, भ्रष्टचारी र राष्ट्रघातको माध्यामबाट आफ्नो जिन्दगीमा अकुत सम्पती र अत्याधुनिक सुबिधाको ‘नवयुग’ ल्याइसकेका एमालेका नेताहरु ‘सूर्य’को रापलाई एकलौटी बनाउने आपसी संघर्षमा ब्यस्त छन। आफ्नै नेताको बिरुद्धमा ‘वर्ग संघर्ष’को बिकास गर्न नेपाली जनताहरुसंग मिलेर संयुक्त ‘मूक्ति मोर्चा’ निर्माण गर्ने चेत को अभावमा कार्यकर्तागण भने किं कर्तव्य बिमूढ छ।

चिप्लो बाटोमा बाध्यताबस ओरालो लाग्दा अढिइने ठाऊंको हेक्का नराख्नु या त अधोगती हो या मूर्खता। उकालो चड्ने बहानामा जानाजानी हनुमाने कार्यकर्तागणलाई चिप्लेटीको खेलाडी बनाउनु बेइमानीको पराकाष्ट हो। एमाले भित्रका केही नेताहरु र क्रान्तिकारी चेत भएका तर एमालेले नै क्रान्ति गर्दछ भन्ने भ्रम पालेका धेरै कार्यकर्ताहरु पहिलो बर्गमा पर्दछन भने धेरै नेताहरु र केही कार्यकर्ताहरु दोश्रो बर्गमा। अहिले मूर्खताका कारणले अधोगती समाएकाहरुको झुण्ड झलनाथ खनालका वरीपरी छ भने बेईमानहरुको झुण्ड खड्ग वलीको नेतृत्वमा।

कुरा सन १९८३/८४ तिरको हो। पार्टीका तत्कालीन माहसचिव सी पी मैनालीले अव पार्टीले तत्कालीन कार्यक्रम पार्टी स्वतन्त्रताको (बहुदलीय ब्यवस्थाको) लडाईलाई बनाउनु पर्दछ भन्ने नीति अघि सारेका थिए। यसमा उनलाई कोअर्डिनेशन केन्द्रबाट आएका बहुसंख्यक नेताहरुको समर्थन थियो। यो नीति नेपालका परम्परागत कम्युनिष्टहरुको सोचाई भन्दा फरक, यसर्थ, परम्परागत मार्क्सबादी शिक्षामा हुर्केकाहरु वीच अलोकपृय पनि थियो। मूक्ति मोर्चा समूहकाबाट आएका बहुसंख्यक नेताहरुले झलनाथलाई सिखण्डी बनाएर सी पी मैनालीको मान मर्दन गर्न यो अवसरको प्रयोग गरे। सी पी मैनालीको नीतिलाई दक्षिणपन्थी भन्दै उनलाई कार्यबाही गरियो। सी पी को नीतिका समर्थकहरु सेल्टर पनि नपाउनेगरी लखेटिए। तर, चौथो महाधिबेशनमा आएर मैनालीको नीतिलाई पार्टीको आधिकारीक नीति बनाईयो, मूक्ति मोर्चाबाट आएका मदन भण्डारीको नेतृत्व र सोही समूहबाट आएका माधव नेपाल, जीवराज आश्रित, बामदेव गौतम आदीको सहयोगमा। नेकपा मालेमा त्यतिबेला रोपिएको र झलनाथको नेतृत्वकालमा झाँगिएको जुँगाको लडाईको यो बिषबृक्षले एमालेलाई त्यतिबेलासम्म सताईरहने छ जतिबेलासम्म गुटगत र निजी स्वार्थमा टिकेको नेतृत्वको अन्त्य हुंदैन।

अहिले मैनालीमा त्यो शैद्धान्तिक सुझबुझ र त्यो नेतृत्व क्षमता छैन। उनी एमालेमा पनि छैनन। तर उनले त्यतिबेला अघि सारेको पार्टीको तत्कालीन कार्यनीति बहुदलीय जनबादको खोलमा एमालेको मार्गदर्शक शिद्धान्त बनिसकेको छ। भनौं, बी पी कोइरालाको प्रजातान्त्रीक समाजबादमा रुपान्तरीत भइसकेको छ। बहुदलीय जनबादले परिकल्पना गरेको समाजबादमा शान्तीपूर्ण सङ्क्रमणको हावादारी बाटो हो। यसले सोषक र सोषित बर्ग बिचमा सत्रुतापूर्ण अन्तरबिरोध रहेने कुरा र मात्रात्मक बिकासको उच्चतम चरणमा पुगेपछी गुणात्मक फड्को अनिवार्य हुन्छ भन्ने द्वन्दात्मक भौतिकबादी यथार्थलाई नकार्छ भन्ने बुझेका कार्यकर्तले एमाले पहिल्यै छोडिसके। तत्कालीन मालेका कार्यकर्ताहरुको ठुलो सङ्ख्या माओबादी जनयुद्धको सहीद भयो। संबिधानसभाका माओबादी सदस्यहरु मध्ये ९२ जना माले/एमालेबाट माओबदीमा प्रबेश गरेकाहरु छन। तर पनि एमालेमा हनुमाने कार्यकर्ताहरुको खडेरी खासै परेको छैन।

अत्यन्तै प्रखर वक्ता मदन भण्डरीले आफ्नो दक्षिणपन्थी बहुदलीय जनबाद नामको बी पी बादलाई अटल अमर बनाउनकोलागी मूलत: तिनवटा नीति अघि सारेका थिए। प्रथम: पूर्णकालीन कार्यकर्ता नपाल्ने ता कि पुराना तथा शिद्धान्त निष्ठ कार्यकर्ताहरुलाई या त आर्थिकरुपले सवल र नवप्रबेशी कार्यकर्ताले बिस्थापित गर्न सकियोस या जीवन यापनकोलागी भ्रष्ट हुन बाध्य पार्न सकियोस। दोश्रो: कार्यकर्ताहरुलाई शिद्धान्तहीन झुण्डमा परिणत गर्ने। मदन भण्डारीले कठमुल्लाबादको बिरोध गर्ने नाममा काठमाण्डौको खुला मञ्चमा ‘किताव पढेर कोही कम्युनिष्ट हुंदैन’ भनेको कुरा मलाई प्रष्ट याद छ। यसले कार्यकर्ताहरुलाई के शिक्षा दियो भन्ने कुरा त प्रष्टै छ। तेश्रो: सरकारलाई राजनीतिको केन्द्रबिन्दु बनाउने। म उपस्थित भएको एक कार्यकर्ता भेलामा मदन भण्डारीले प्रतिकृयाबादी सत्ताको सरकारमा जानुपर्ने कुराको पक्षमा पैरवी गर्दै भनेका थिए ‘जोगी हुनलाई कसैले राजनीति गर्दैन’। प्रष्टै छ, उनले यस वाक्यमा तीनवटा कुरा एकसाथ लुकाएका थिए; १. राजनीति बर्गमूक्तीकोलागी होइन धनि बन्न गरीने हो, २. श्रमजीबि बर्गको सत्ता आओस नआओस तर जोगी नहुने हो भने सरकारमा हरहालतमा जानै पर्दछ, ३. परम्परागत तरीकाले श्रमजीबि वर्गको राजनीति गर्नु भनेको जोगी बन्नु हो।

१९९० को जनआन्दोलन सम्पन्न हुंदा तत्कालीन माले १९८९ मा भएको चौथो महाधिवेशनबाट भर्खरै निक्लिएको थियो। यस महाधिबेशनले पारीत गरेको न्यूनतम लक्ष नया जनबाद र नया जनबाद प्राप्त गर्ने कार्यनीति राष्ट्रब्यापि शसस्त्र बिद्रोह थियो। तर १९९० को नोभेम्बर सम्म आइपुग्दा, मदन भण्डारीको नेतृत्वको मालेले मनमोहन अधिकारीको मार्क्सबादीसंग एकतको प्रस्ताव राख्दा महाधिबेशनको निर्णयलाइ धोती लगाउंदै हामी परिवर्तनकोलागी बल प्रयोग गर्ने दलसंग एकता गर्दैनौं भन्यो। यो बेला तथाकथित जबज क्षितिजमा उदाईसकेको थियो। कार्यकर्ताहरु पार्टीलाई भूमिगत राखेर चौथो महाधिबेशनको कार्यनीतिको कार्यन्वयन पट्टी लाग्नु पर्दछ भन्दथे। नेताहरु भने प्रतिकृयाबादीहरु हामीलाई भूमिगत जान प्रेरीत गरिरहेका छन, तर हामी जँदैनौ भनेर खुला मञ्चमा कुर्लिन्थे। यीनिहरुले आफ्नै कार्यकर्तालाई प्रतिकृयाबादी देखे की चौथो महाधिबेशनको रणनीति र कार्यनीतिलाई प्रतिकृयाबादी देखे भनेर छुट्ट्याउन मलाई गाह्रो परेको थियो।

सी पी मैनालीको बिरुद्ध स्वार्थी गुट निर्माण गर्न सफलता पाएका मदन भण्डरीले गुट समिकरण एमालेको कार्यनीतिको केन्द्रबिन्दु बनाए। एउटा कार्यकर्ता भेलामा उनले भनेका थिए ‘राजनीतिमा स्थाई सत्रु हुंदैन’। उनको, बहुदलीय जनबादको शिद्धान्तसंग ठ्याक्कै मिल्ने, यो भनाईले श्रमजीवि वर्ग र श्रम सोषक बर्गको बीचमा हुने सत्रुतापूर्ण स्थाई अन्तरबिरोधको वर्ग संघर्षको शिद्धान्तलाई ठाडै नकार्छ। शैद्धान्तीक रुपले द्वन्दात्मक भौतिकबाद र बर्ग संघर्षलाई नकारी सकेपछी श्रमजीबी वर्गका मूक्तीका कुरा हावादारी हुनेनै भए। कार्यनीतिक केन्द्रबिन्दु नै ‘जोगी नहुनु’ भएपछी एमाले लोभिपापीको झुण्डमा परीणत हुनु नया कुरो भएन।

महासचिवको पदकालागी भण्डारी गुटको सिखण्डी बनेका झलनाथ खनाल मार्क्सबादी शिद्धान्त बुझेका नेता हुन। चाहे मालेको महेशमणी दिक्षितहरुसंगको शैद्धान्तिक बहसमा होस चाहे पार्टी भित्रै गोपल शाक्यसंगको, शैद्धान्तिक बहसहरुमा झलनाथ अग्र पङ्तिमा थिए। उनले शिद्धान्त बुझेकै कारणले पाचौं महाधिबेशनमा बहुदलीय जनबादको नाममा आएको प्रजातान्त्रीक समाजबादको बिपक्षमा उभिए। तर, आफ्नो राजनैतिक इतिहासको यस घडीसम्म आइपुग्दा बैचारीक रुपमा पींध बिनाको लोटा भइसकेका मैनाली र ब्यक्तिगत पद र सुबिधालाई बढी महत्व दिने भइसकेका खनालको सहयात्रा धेरै दिन टिक्न सकेन।

पार्टीको छैटौं महाधिबेशनसम्म आइपुग्दा चुलिएको ‘जोगी नहुन’ आ-आफ्नो स्तरको नेतृत्वमा रहेर अर्थोपार्जन गर्नै पर्ने शिद्धान्तका पक्षपातीहरु बीच बढेको प्रतिस्पर्धा पार्टी फुटमा आएर टुङ्गियो। पार्टी भित्रको सत्ताधारी बर्ग एमाले ओगटेर बस्यो भने श्रमजीबि बर्ग, नया पार्टी क्रान्तिकारी हुने आशमा, बहुदलीय जनबादी नेता बामदेव गौतम र पींध बिनाको लोटा सी पी मैनालीको शिद्धान्तहीन गठबन्धनमा मालेको नाममा एकतृत भयो। त्यसपछी स्वाभाविक रुपमा स्वप्न भङ्ग भएका कार्यकर्ता माओबादी तिर र अर्थोपार्जनको बाटो बन्द भएका नेताहरु एमाले तिर गएको कुरा जगजाहेर छ। सी पी को हबिगतको कुरा नगरौं। कार्यबाहीमा परेपछी तिल्मिलाएका उनि आफ्नो गुमेको साख फर्काउन हतास प्रयासको प्रकृयामा एक पछी अर्को शैद्धान्तिक र ब्यबहारिक गल्ति गर्दै जांदा राजनैतिक घटनाक्रमहरुको किनाराको साक्षीमा रुपान्तरण भएका छन।

अहिले नेपलको राजनैतिक बाताबरणले तिब्र ध्रुबिकारको माग गरेको छ। सवैलाई आफ्नो कित्ता नछुट्याइ सुखै छैन। एमाले भित्र बचेखुचेको बामपन्थीहरु बर्तमानले थोपरीदिएको बाध्यताको कारण आफ्नो ईतिहास केलाउन बाध्य छन। उनिहरुलाई लाग्न थालेको छ, कुनै जमानामा उनिहरु कम्युनिष्ट थिए। उनिहरु राष्ट्रीयताकोलागी लडेका थिए; भलै खड्ग ओली जस्ता नेताले त्यो कुरालाई महाकालीको सन्धीमार्फत भारतबाट पाएको पैसा, पद र प्रतिष्ठाले ढाकिसकेका हुन। राजतन्त्र बिरुद्ध उनिहरुले पनि माओबादीले जस्तै हतियार उठाएका थिए; भलै माधव नेपालले चुनदाम सहीत त्यो ईतिहासलाई ज्ञानेनद्रको पाउमा चढाइसकेको होस। उनिहरुको पार्टीको नाम अझै कम्युनिष्ट नै छ, भलै भारतको आडमा शैनिक तानाशाहीको छाया सरकारको नेतृत्वमा उनिहरुकै नेता हुन। त्यसर्थ, यी बामपन्थीहरु शिद्धान्त बुझेका र सालीन तर सुबिधाभोगी नेता खनालको वरीपरी झुम्मिएर पार्टीलाई कमसेकम बामपन्थी बनाइ राख्न कोसिस गर्दै छन।

झलनाथ खनाल, बहुदलीय जनाबादका उतराधिकारी होइनन। तसर्थ, एमाले भित्रको दक्षिणपन्थी गुट झस्केको छ अध्यक्ष पदमा उनको जित देखी। मुक्ति मोर्चाबाट आएको नेतृत्व समूहले १९८३/८४ मा खनेको र मदन भण्डारीले फराकिलो पारेको ओरालो बाटोमा रोकावट आउला भनि लोभिपापीगण त्रस्त छ। आन्दोलनको बेलामा जेलमा जीवन बिताएका र गहन मार्क्सबाद भन्दा सरल चाणक्यनीति पढ्न मन पराउने खड्ग वली ‘किताव पढेर कोही कम्युनिष्ट नहुने’ नीतिबाट सबैभन्दा बढी लाभान्वित नेता हुन। उनका वरीपरी ‘जोगी हुनलाई राजनीति नगर्नेहरु’को ठुलो भिंड छ। यो भिडलाई लागेको छ, कतै झलनाथले एमालेमा मूल्यको राजनीति प्रतिस्थापित गर्लान र जसको सरकार आएपनि, देशै बेचेर भएपनि, सत्ताको तर मार्नै पर्ने संस्कार निर्मूल गर्लान। एमालेले सरकारमा आधा भाग पाउंदा प्रतिगमन आधा सच्चिने र सरकारमा पुरा भाग पाउंदा प्रतिगमन पुरा सच्चिने तर्कले ठाउं नपाउला। कथं कदाचित यस्तो भइदियो भने सम्बिधान सभाको चुनावमा तेस्रो हुन पुगेको एमालेमा गोलबन्द यीनिहरुको बिजोग हुने छ।

यसैले एमाले भित्रको अहिलेको आन्तरीक संघर्ष भनेको बामपन्थीहरुको एकिकृत प्रयासमा देशका बर्तमान समस्याहरुको अग्रगामी निकासा खोज्ने की दक्षिणपन्थी लोभिपापीहरुको संयुक्त प्रयासमा राजनैतिक पाङ्ग्रालाई पछाडी गुडाउने भन्ने हो। यो एक किसिमले दल भित्रको आन्तरीक वर्ग संघर्ष हो।
सोषक वर्गमा परिणत भैसकेको बिभिन्न तहको नेतृत्व जुनसुकै सरकारमा जसरी भएपनि गएर अर्थोपार्जन गर्न सकिने बाटो बनाउन तल्लीन छ भने बामपन्थी रुझान भएको नेतृत्व र त्यस वरीपरी रहने निम्न तथा मध्यम वर्ग पृष्टभूमी भएको कार्यकर्तागण समाजको प्रगतिशील परिबर्तनको सपना देख्दछ। एमाले भित्र समाहित यी दुइखाले वर्गको अन्तरद्वन्दको तात्कालीन, ब्यबहारबादी र भागबण्डाको अप्राकृतिक हललाई बीचको सही बाटो भन्न रुचाउछन, एमालेका नेता तथा कार्यकर्ताहरु।
बर्तमान राजनैतिक तरलताको निकास या त अग्रगमन हो या पश्चागमन। यथास्थिति धेरैदिन रहिरहन सक्दैन। एमालेले आफू माओबादीले नेतृत्व गरेको अग्रगमनको बाटोमा जाने कि बाह्य तत्वहरुको आडमा (शाही) नेपाली सेनाले नेतृत्व गरेको पश्चागमनमा जाने भन्ने कुरो निर्क्योल गर्नु नितान्त आवश्यक भइसकेको छ । पार्टीभित्र र बाहिर बिध्यमान अग्रगामी र पश्चगामी बिचको संघर्षलाई यसको असली रुपमा नस्वीकार्ने एमालेलाई तिब्र राजनैतिक ध्रुबिकरणले गर्दा आफूभित्र आफ्नो कित्ता छुट्ट्याउनै पर्ने बाध्यता आइलागेको छ।

पार्टीले कित्ता नछुट्ट्याए कार्यकर्ताले छुट्ट्याउने छन त्यो कित्ता। तर, एमाले नेता र कार्यकर्तागणको दुर्भाग्य के भने, दलको फूट या कार्यकर्ताको आ-आफूलाई मन परेको कित्तामा पलायन बाहेक एमालेको नेतृत्वले अरु कुनै बिकल्प दिने संभावना छैन। कार्यकर्ताहरुले नै पार्टी र राष्ट्रलाई बर्तमान अकर्मन्यताबाट मूक्त गर्न एमाले भित्र र बाहिरका अग्रगामिहरुसहितको ‘मूक्ती मोर्चा’ निर्माण गरी आन्तरीक ‘बर्ग संघर्ष’लाई अग्रगमनको पक्षमा चर्काउनु आवश्यक छ। त्यस्तो नभएमा देशभित्र चर्किएको अग्रगामी र पश्चागामि बीचको द्वन्दले बिचमा बस्नेहरुको अस्तित्वको नै अन्त गरिदिने छ। अस्तु।

********************************************************************
र अन्त्यमा, बिगत र बर्तमानको एमालेको यो कहानीलाई माओबादीको निकट बिगत, बर्तमान र भविष्यको रुपमा नबुझिदिनुहुन म समस्त पाठक बर्गमा अनुरोध गर्दछु।

No comments: